मिति: २०८१ माघ १३ गते
प्रेस विज्ञप्ति
आदिवासी लिम्बुहरुको आध्यात्मिक स्थल मुक्कुमलुङमा राज्य आतंक बन्द गर ।
आदिवासी लिम्बुहरुको आध्यात्मिक तथा पवित्र स्थल (Spiritual and Sacred Site) मुक्कुमलुङ क्षेत्रमा समुदायको सहमति र मन्जुरी बेगर केबलकार निर्माणको नाममा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरुमाथि बल प्रयोग गर्ने राज्यको ज्यादतीको नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुहको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो शसस्त्र र जनपद प्रहरीको टोली परिचालन गरि निहत्था जनतामाथि गली प्रहार गर्दा दर्जनौं घाइते भएका छन भने तीनजना गम्भीर घाइते भएका छन् । गम्भिर घाइते भएका याम लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई थप उपचारका लागि काठमाडौं ल्याउने काम भइरहेको छ । गम्भिर घाइते लिम्बुको तीघ्रा, लावतीको छातीमा र पालुङ्वाको कुममा गोली लागेको छ । राज्यको यस प्रकारको मानव अधिकार विरोधि र गैरकानूनी हर्कतले लोकतन्त्र तथा कानूनी शासनको उपहास गरेको छ । निहत्था जनताको जायज र कानूनी मागको नजरअन्दाज गर्दै उनीहरुमाथि दमनमा उत्रिनु अत्यन्त गैरजिम्मेवारपूर्ण कृयाकलाप हो । यस प्रकारको कृयाकलाप तत्काल बन्द गरी जनताको न्यायपूर्ण माग तत्काल सम्बोधन गर्न र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानूनहरु आइएलओ महासन्धी नं १६९ र आदिवासी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्रलगायतलाई तत्काल कार्यान्वयन गर्न पनि हामी नेपाल सरकारसँग माग गर्दछौं ।
राज्यको ज्यादतीका क्रममा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचार व्यवस्था गर्न पनि नेपाल सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दछौं । साथै संचार जगत र मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई यस घट्नाको अध्ययन, अनुसन्धान गरी सत्य तथ्य रिपोर्टिङ गरी मानव अधिकार संरक्षणमा सहयोग गरि दिन हुनसमेत अनुरोध गर्दछौं ।
शंकर लिम्बु
उपाध्यक्ष