प्रेस विज्ञप्ती -१ नं प्रदेशको नामकरण

प्रेस विज्ञप्ती

मिति २०७९।११।१७ मा १ नं प्रदेशको नाम प्रदेशसभाले कोशी राखे पश्चात् पहिचान पक्षधर जनता, आदिवासी समुदाय तथा सम्बन्धित संघसँस्थाले गरी आएको आन्दोलनहरुमा श्रृङखलाबद्धरुपमा भएको मानव अधिकार उल्लंघनका घटनाहरु प्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह “लाहुर्निप” को गम्भीर ध्यानाकर्षण भएको छ र चिन्तित बनाएको छ । यसै क्रममा मिति २०७९।१२।०५ गते विराटनगरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीको अन्धाधुन्द लाठीचार्जबाट टाउकोमा चोट लागी गम्भीर घाइते हुन पुगेका तेह्रथुम जिल्ला म्याङलुङ न.पा.वडा नं ९ स्थायी घर भई हाल सुनसरी जिल्ला धरान न.पा. मा बसोबास गर्दै आएका लाजेहाङ लिम्बु भनि चिनिने पदम लिम्बुको वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा अवस्था गम्भीर भई उपचारको क्रममा आई सी यु मा मिति २०७९।१२।११ गते दुःखद निधन भएको छ । यस दुःखद् निधन प्रति लाहुर्निप गहिरो दुःख व्यक्त गर्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दछ ।

मिति २०७९।१२।१३ गते विराटनगरमा भएको आन्दोलनका क्रममा प्रहरीहरुले जथाभावी लाठी चार्ज तथा रबर गोली प्रहारबाट तल उल्लिखित १४ जनालाई घाइते बनाएको छ । कतिपय घाइतेहरुलाई टाउको जस्तो संवेदनशील भागमा बुलेट प्रहार भएको छ । रबरको बुलेटले पनि मानिसको मृत्यु हुन सक्दछ भन्ने घटना तथा अध्ययनहरुले देखाएको हुनाले यसको प्रयोग बर्जित गरिएको वा कानून अनुसारमात्र गर्नुपर्ने हुन्छ । शान्तिपुर्ण जुलुस र निहत्था रहेका जनतामा रबर बुलेट प्रयोग गर्न पाइन्न । यस कार्य अन्तराष्ट्रिय मानव अधिकारका कानून, प्रचलित नेपाल कानून तथा एमनेष्टि इन्टरनेशलनको The Deployment and use of Kinetic Impact Projectiles in Law Enforcement Rule रबरको गोली प्रयोग सम्बन्धी २५ नियम विपरित छ । उक्त घटनाका प्रत्यक्षदर्शी तथा घाइतेहरुका अनुसार विना चेतावनी, अत्यन्त नजीकबाट गोली प्रहार भएका छन् । घाइतेहरु एकजना दलित तथा १४ जना अदिवासी समुदायका छन् । त्यसैले यस कार्य सीमान्तकृत समूह लक्षित रहेको देखिन्छ । शान्तिपूर्ण जुलुस भेला, धर्ना गर्न पाउने अधिकार नेपालको संबिधान, २०७२ को धारा १७(२)(ख) मौलिक हकको रुपमा प्रत्याभूत छ । अन्तर्राष्ट्रिय मानव अधिकारका कानूनहरुलेसमेत नारा जुलुस, धर्ना विरोध शान्तिपूर्णरुपमा गर्न पाइन्छ । नेपालको संविधानको धारा ५२(ञ)(८) मा आदिवासीहरुले पहिचान सहित सम्मानपूर्बक बाँच्न पाउने अधिकार दिएको छ । आदिवासीहरुले आफ्नो पहिचान मेटेर कोशी नाम राख्ने कार्य भएको यसमा सरोकार रहेको सामूहिक ठहर गरी आन्दोलन गरी शान्तिपूर्ण आन्दोलनमा रहेको देखिन्छ । यसरी आदिवासीकै पहिचानलाई इन्कार गरी प्रदेश नामांकरणमा गरिएको अवस्थामा आदिवासीहरुको संविधान, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ तथा आदिवासीहरुको अधिकार सम्बन्धी संयूक्त राष्ट्रसंघीय घोषणापत्र २००७ अनुसार निर्णय प्रक्रियामा परामर्श गर्नुपर्ने तथा सहमती र मञ्जूरी लिन पर्ने हुन्छ । यी संवैधानिक कानूनी ब्यवस्था विपरित भएको प्रदेशको नाम कोशी अविलम्ब खारेज गर्नु उपर्यूक्त देखिन्छ ।

माथी उल्लिखत घट्नाको छानबिनका लागि आन्दोलनरत आदिवासी समुदायको प्रतिनिधित्व, विज्ञ राखी स्वतन्त्र छानबिन आयोगको गठन गरी स्वतन्त्र रुपले छानबीन गरी ज्यानै लिनेगरी लाठी प्रहार गर्ने दोषी सुरक्षाकर्मी, निर्णय गर्ने अधिकारी उपर कानूनी कारबाही होस । त्यसतै निहत्था रहेका आन्दोलनरत जनतामाथी रबरको गोली प्रहार गर्नु मानव अधिकार तथा कानूनीरुपमा जायज नभएको हुनाले यस उपर छानबीन गरी दोषीलाई सरकारले कारबाही गर्नु पर्दछ । यस्ता घातक हात हतियार प्रयोग अविलम्ब रोक्नु पर्दछ । हाल भई रहको आन्दोलनमा यस प्रकारको मानव अधिकार उल्लङ्घनका गतिविधि आगामी दिनमा पनि राज्य पक्षबाट निरन्तर गरिने आशंका रहेकोले थप मानव अधिकारको उल्लङ्घन गर्ने कार्य बन्द गर्न गराउन थप मानवीय क्षति हुन नदिन र शान्तिपूर्ण विरोध गर्न पाउने मानव अधिकार कायम राख्न संचारमाध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्था र नेतृत्वहरुलाई विशेष ध्यान पु¥याई दिनु हुन लाहुर्निप हार्दिक अनुरोध गर्दछ ।

घाईतेहरुः

क) धरान उ.म.न.पा वडा नं. १६ बस्ने शिव आङदेम्बे

ख) मोरङ, ग्रामथान गा.पा. वडा नं. ६ सुरज राई

ग) इटहरी उ.म.न.पा. तरहरा का सरोज लिम्बू

घ) धरान उ.म.न.पा वडा नं. ८ का अशोक राई

ङ) धरान उ.म.न.पा वडा नं. ११ का ज्ञान बहादुर राई

च) इलाम, माङसेबुङ गा.पा. का उदय लिम्बू,

छ) धरान उ.म.न.पा वडा नं. ५ का एम के दर्नाल

ज) धरान उ.म.न.पा वडा नं. ५ विशाल राई

झ) इटहरी उ.म.न.पा. ५ का पदम लाल लिम्बू

ञ) इटहरी उ.म.न.पा. तरहरा का रेसम राई

ट) इटहरी उ.म.न.पा. ५ का रोयल राई

ठ) इटहरी उ.म.न.पा. ८ का बिमल किराँती

ड) धरान उ.म.न.पा वडा नं. १२ आस्था राई

सचिव

अधिवक्ता भिम राई

मिति २०७९।१२।१६

Download & Print