प्रेस विज्ञप्ती -१ नं प्रदेशको नामकरण विरुद्व आन्दोलनमा मानव अधिकारको उल्लघंन

प्रेस विज्ञप्ती

मितिः २०८० बैशाख २७

प्रदेशको नाम “कोशी” खारेजीको माग राख्दै झापाको दमकमा शान्तिपूर्ण प्रदर्शनका क्रममा (२०८० बैशाख २६गते) भएको प्रहरी दमनप्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप)को गम्भिर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण भेला, धर्ना, जुलुस गर्न पाउने जनताको संविधान तथा मानव अधिकार कानूनद्दारा प्रदत्त अधिकार हनन् हुने गरी भएको प्रष्ट देखिन्छ । शान्तिपूर्ण प्रदर्शनमा हुने यस प्रकारको राज्यको दमन कुनै पनि अर्थमा उचित र स्वीकार्य हुन्न भन्ने हाम्रो ठहर छ ।

निशस्त्र र शान्तिपूर्णजुलुसमा राज्य नियन्त्रित सुरक्षा निकायले अन्धाधुन्द गोली चलाउनु मानव अधिकारको गम्भिर उल्लङ्घन तथा गैरकानूनी क्रियाकलाप हो । यस प्रकारको बल प्रयोगले शान्ति प्रक्रियामा खलल पुग्नुका साथै लोकतन्त्रिक पद्धतीमाथि नै प्रश्न खडा भएको छ । साथै यसले राज्यको गैरजिम्मेवारीपन र दमनकारी प्रवृतिको समेत उजागर गरेको छ । शान्तिपूर्ण प्रदर्शनकाक्रममा सुरक्षाकर्मीको गोली लागि निर्मला क्षेत्री (लिङ्देन) र गजेन्द्र फागो लिम्बू गम्भिर घाइते हुनुका साथै अन्य दर्जन बढी घाइते बनेका छन् । गम्भिर घाइते भइ उपचारार्थक्षेत्री (लिङ्देन) र फागो लिम्बुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, घाइतेहरुको राज्यले तुरुन्त उपचार जिम्मा लिइ घट्नामा संलग्नलाई कडा भन्दा कडा कारबाही गरिनुपर्दछ साथै संबिधानमा नै स्वीकार गरिएको पहिचानको विषयलाई शान्तिपुर्ण तवरबाट समाधन गर्न समेत सरकारलाई अग्रह गरिन्छ ।

राज्यको दमनकारी नीतिले शान्ति, अमनचयन र लोकतन्त्र स्थापना नहुने र मानव अधिकार संरक्षण समेत खतरामा पर्ने ठहर गर्दै यस प्रकारका राज्यको हर्कतले पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि भएको शान्तिपूर्ण आन्दोलनप्रति राज्य असहिष्णु बनेको देखिन्छ । तसर्थ, यस प्रकारको गैरकानूनी बल प्रयोग रोक्नका लागि सम्बन्धित निकाय, नागरिक समाज, मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको ध्यानाकर्षण गराउँदै आवश्यक पहलका लागि समेत हार्दिक अपिल गर्दछौं ।

अधिवक्ता भिम राई

सचिव

Download & Print