प्रेस विज्ञप्ति
सुकुम्बासी बस्तीमा डोजर चलाइएका घटनाप्रति लाहुर्निपको गम्भीर ध्यानाकर्षण
मितिः २०८३।०१।२०
यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को हालै उपत्यकाको विभिन्न स्थानहरूमा सुकुम्बासी तथा भूमिहीन समुदायको बसोवासमाथि डोजर आक्रमण प्रयोग गरी गरिएको घरटहरा भत्काउने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्बन्धित निकायहरूले उचित पूर्वसूचनाको हक, वैकल्पिक व्यवस्थापन तथा मानव अधिकारका आधारभूत मापदण्डहरूको पूर्ण पालना नगरी सुकुम्बासी बस्तीहरूमा बल प्रयोग गरी संरचना हटाइएको देखिन्छ । यस प्रकारका घटनाले जोखिममा रहेका समुदाय विशेषगरी आदिवासी जनजाति, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूमाथि प्रत्यक्ष असर पारिएको छ ।
नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको आवासको हक तथा अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि, महासन्धिको आवास अधिकारसम्बन्धी मापदण्डहरूले सुनिश्चित गरेको “आधारभूत आवासको अधिकार” को सम्मान, संरक्षण र परिपूर्तिको दायित्व राज्यका सबै निकायमा रहने कुरा स्मरण गराउँछौं ।
कुनै पनि विकास, शहरी व्यवस्थापन वा सार्वजनिक जग्गा संरक्षणका नाममा गरिने कार्यहरू मानव अधिकारमैत्री, सहभागीमूलक र संवेदनशील हुनुपर्छ । जबर्जस्ती विस्थापन अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिनु पर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि पूर्ण रूपमा पालना गर्न आवश्यक छ ।
लाहुर्निपका प्रमुख सुझावहरूः
सुकुम्बासी तथा भूमिहीन समुदायको तत्काल सुरक्षा र पुनःस्थापनाको व्यवस्था गरियोस् ।
डोजर प्रयोग गरी नागरिकको आवासको हक हनन् हुने गरी बिना सूचना, परामर्श नगरी कुनै पनि विकासको कार्य नगरियोस् ।
प्रभावित समुदायलाई मानव अधिकारअनुसार उचित क्षतिपूर्ति र आवासको व्यवस्था गरियोस् ।
भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट नीति तथा कार्यविधि कार्यान्वयन गरियोस् ।
जिम्मेवार निकायहरूको छानबिन गरी सुशासन र उत्तरदायित्व सुनिश्चित गरियोस् ।
लाहुर्निपले सम्बन्धित सबै सरोकारवालाहरू सरकार, स्थानीय तह तथा अन्य निकायहरूलाई मानव अधिकारको सम्मान गर्दै दिगो र न्यायपूर्ण समाधानतर्फ अग्रसर हुन हार्दिक आग्रह गर्दछ ।
भिम राई
सचिव