प्रेस विज्ञप्ति त्रिशूली नदी

प्रेस विज्ञप्ति
 
त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति लाहुर्निपको गम्भीर ध्यानाकर्षण; तत्काल उद्धार, राहत र अधिकारमा आधारित पुनस्र्थापनाको माग ।
 
काठमाडौं, ११ भदौ २०८३
 
नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । बाढीबाट जनधनको क्षति, मानिस बेपत्ता तथा विस्थापित हुनुका साथै घर, सडक, पुल, विद्युत् र अन्य पूर्वाधारमा पुगेको क्षतिप्रति लाहुर्निपको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
यस विपद्बाट आदिवासी जनजाति लगायत सबै प्रभावित समुदाय गम्भीर रूपमा प्रभावित भएका छन् । घर तथा भौतिक संरचनासँगै भूमि, जीविकोपार्जन, सामुदायिक स्रोत, सांस्कृतिक सम्पदा र सामाजिक जीवनमा समेत दीर्घकालीन असर पर्न सक्ने भएकाले राहत, पुनस्र्थापना र पुनर्निर्माण मानव अधिकार, सामाजिक न्याय र समानताको सिद्धान्तमा आधारित हुन आवश्यक छ ।
 
यस सन्दर्भमा लाहुर्निप नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित निकायसँग निम्न माग गर्दछः ।
 
  • बेपत्ता तथा जोखिममा रहेका व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरण गरियोस् ।
  • प्रभावित सबै परिवारलाई भेदभावरहित, पर्याप्त, निष्पक्ष र पारदर्शी राहत उपलब्ध गराइयोस् ।
  • प्रभावित समुदायका लागि खानेपानी, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा, औषधि तथा मनोसामाजिक सहयोगको तत्काल व्यवस्था गरियोस् ।
  • क्षतिग्रस्त घर, भूमि, कृषि, व्यवसाय तथा जीविकोपार्जनको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति, पुनस्र्थापना र पुनःस्थापनाको व्यवस्था सुनिश्चित गरियोस् ।
  • पुनर्निर्माणका क्रममा प्रभावित समुदायलाई भूमि, आवास, जीविकोपार्जन तथा सांस्कृतिक पहिचानबाट अनावश्यक रूपमा विस्थापित नगर्ने नीति तथा व्यवस्था सुनिश्चित गरियोस् ।
  • आदिवासी जनजातिको पुख्र्यौली भूमि, परम्परागत जीविकोपार्जन, सांस्कृतिक पहिचान तथा सामुदायिक स्रोतहरूको संरक्षण सुनिश्चित गरियोस् ।
  • पुनस्र्थापना तथा पुनर्निर्माणसम्बन्धी योजना, नीति र निर्णय प्रक्रियामा प्रभावित समुदायको अर्थपूर्ण सहभागिता, परामर्श र सहमति सुनिश्चित गरियोस् ।
  • बाढीको कारण, पूर्वसूचना प्रणालीको अवस्था, विपद् तयारी तथा नदी आसपास सञ्चालन भएका विकास आयोजना र पूर्वाधारबाट सिर्जित जोखिमबारे स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक अध्ययन तथा छानबिन गरियोस् ।
  • भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका लागि समुदायमा आधारित पूर्वसूचना प्रणाली, स्थानीय ज्ञान तथा प्रभावकारी विपद् व्यवस्थापन संयन्त्रलाई सुदृढ गरियोस् ।
  • जोखिम अझै टरिनसकेको अवस्थामा प्रभावितहरुकोे सुरक्षा र संरक्षणका लागि आवश्यक साधन, स्रोत तथा तत्कालीन सुरक्षात्मक उपायहरूको व्यवस्था गरियोस् ।
 
लाहुर्निप प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै तत्काल उद्धार, राहत, सुरक्षा तथा पुनस्र्थापनाका लागि प्रभावकारी पहल गर्न नेपाल सरकारसमक्ष जोडदार आग्रह गर्दछौ ।
 
पुनर्निर्माण प्रभावित समुदायको जीवन, भूमि, जीविकोपार्जन, संस्कृति, पहिचान, गरिमा तथा अधिकारको संरक्षण र अर्थपूर्ण सहभागिता सुनिश्चित हुने गरी अघि बढाइन माग गर्दछौ ।
 
यस विपत्तिमा उद्धार, राहत तथा अन्य मानवीय कार्यका लागि सबै संघ–संस्था, संगठन, व्यक्ति, समूह तथा निकायलाई जुट्न हार्दिक अपिल गर्दछौ ।
 
 
 
अधिवक्ता भीम राई
 
................................................
सचिव
अधिवक्ता भीम राई
 
Download & Print