गत साल भदौ ७ मा भएको टीकापुर घटनापछि थारुहरुमाथि भएको व्यापक दमन तथा मानव अधिकार विरोधी कार्यको थारु सभासदहरुले विरोध गरेका छन् ।
राजनीतिक माग उठाउने क्रममा भएको टीकापुर घटनालाई राज्यले अपराधीकरण गरेको थारु सामाजिक संघ संस्था तथा राजनीतिक दलका नेताहरुले बताएका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप)ले २४ साउन २०७३ मा आयोजना गरेको “आदिवासीको मानव अधिकारको वर्तमान स्थितिः टिकापुर–कैलाली घटना सन्दर्भ” विषयक कार्यक्रमका वक्ताहरुले सो भनाइ राखेका हुन् । थारु विद्यार्थी समाज तथा थारु युवा सभाको संयोजनमा सम्पन्न भएको सो कार्यक्रममा व्यवस्थापिका संसदका थारु सदस्यहरु गंगा चौधरी, तेजुलाल चौधरी, योगेन्द्र चौधरी र अमनलाल मोदी थारु लगायतको सहभागीता रहेको थियो ।
कानुन व्यवसायी तेज नारायण चौधरीका अनुसार थारुहरु विरुद्ध चलिरहेको मुद्दाको मिसिल हेर्दा उनीहरु दोषी ठहरिने कुनै पनि आधार नभएको बताए । त्यस्तै थारु समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिले सबै थारुहरु मिलेर एक जुट हुनु पर्ने बताए । थारु आन्दोलन थारुहरुका लागि मात्र नभई समग्र थारु, आदिवासी तथा उत्पीडित वर्गको लागि भएको उनीहरुले बताए ।
सो कार्यक्रममा थारु सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।




